• Anoop me Madhu

    I was done with first semesters at IOE WRC and these guys came up , we spent time around lakeside camera ma chai ANIL GT :D

  • Mamaghar ma Saanaima

    ma sheela dd, paartha vai, pema dd ra hajuraama :) :) i hope you already found me there :D

  • Instrumentation II ko tour jada bus ma

    Life ko passenger :D yestai journey ma ubbirahexu ....seat kuriraaxu :D

  • Mahakaal mandir ma Sandesh sanga

    Sayad 11 class ko internals paxi ho jaile newroad tira ghumtheu,sundharako momo tiptop ko samosa ani matra gahr farkine :D prolly tei time ko ho

  • Nautanwa ko rail

    Train varkharai aathyo,ani yo chai first encounter ho mero train sanga,babba katti thulo awaj hune raixa,ani chadiyo photo khichiyo travel garna ta testai ho, lastai phohor thyo.

Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Monday, February 18, 2019

Album Bhitra ko Gaaun


एल्बम भित्रको गाउँ

गाउँको उकालो जहाँ मोटर गाडी पनि सकी नसकी
स्वाँ  स्वाँ गर्दै चढ्थ्यो
मेरा बा
आफु भन्दा ठुलो भारि बोकेर चढ्थे
अनि
निधाउन अघि
सिरक पन्छाएर सानो स्वरमा सोध्थँे म
वर्षा  भरी चुहिने छानो त टालेउ बा
तर वर्ष भरि चुहिने तिम्रो आँखा लै अझै कति बर्ष लुकाउछँौ

कुनै खुम्चिएको कागज
जसले कुनै समय सुन्दर रचना बोकेको थियो
हजुरआमाका चाहुरीहरु दुरुस्तै थिए
दुबै पढ्न अप्ठ्यारा
तर गहिरा
हजुरआमा ले अचम्मसंग सम्झनुहुन्थ्यो समयहरु
छानोमा बढ्दै गएका खियाका रंगहरु बाट
प्रत्येक वर्ष ब्याउने राती भैसींबाट
गाउँबाट रित्तिदै गरेका दाईहरुका नाम बाट
उमेरसंगै थपिदै गरेका औषधिहरु बाट

अनि मेरो मन आमाले सदर बजारबाट
किनिदिएको त्यो कालो जिन्समा थ्यो
जिन्स धुँदा रंग उडेर फुङ्ग भयो
तर त्यसरीनै उडेका थिए मेरा मनका रंगहरु
पानी साचँै नै क्रर छ
जीवन का रंगंहरु पखाल्छ
कहिले बाढी बनेर कहिले खडेरी बनेर
सिउँदोका सिन्दुरहरु पखाल्छ

मेरो खुसी गाउँको त्यो एक्लो किराना पसलमा
राखीएका मिठाई का डिब्बाहरुमा थिए
जुन मेरै लागि खोलिन्थे र मेरै लागि रित्तिन्थे
सहर पुग्न
दिनको दुइ पटक आउने बस
हजुरआमा बिरामी
अन्तिममा छुटेको बसले
हजुरआमालाई पर्खेको थ्यो वा पर्खेको थिएन
कालले पर्खेन


उसलाई भनुँ भनुँ लाग्थ्यो
तेरो घरको लालुपाते त वर्षमा एक याम मात्र फुल्छ
त सबै याम फुल्छेस

स्मृतिमा मौन बनेर कैद भएका ति तस्बिरहरु
एकपटक कान नजिकै पुर्याउने भने प्रस्टै सुनिन्छ
ति खित्काहरु
बिठ्याँइहरु अनि बदमासीहरु
पिपल को छाहरीमा खेलेका ढ्याक्की र गट्टाहरु
गाउँको खोलामा सबै भन्दा अग्लो ढुंगाबाट फालेका फालहरू
साथीहरु संगै नाङ्गै काटेका पौडीहरु
के त्यो पिपल ले,  त्यो खोलाले
ति गट्टाहरुले मलाई अझै सम्झिन्छन होला ?
कि फेरी कुनै नयाँ पात्रको
नौलो बाल्यकाल संग रमाउँछन होला ?

केही सम्झनाहरु बाको
इस्टकोटका   खल्तीमा
चुरोट बनेर बसेका छन
केही आमाको पटुकीमा खुजुरा नोठ बनेर बसेका छन
यसरी सकिन्छ एल्बममा
स्याम्स्वेत तस्बिरहरुको सिलसिला
यती रंगिन मान्छेहरुको पनि
यती रंगहीन तस्बिर आउने
पक्कै क्यामेरा मा खराबी भएर होला है ?


https://www.youtube.com/watch?v=7nUCC8rvadg


Share:

Thursday, June 7, 2018

कहिले कविता


कहिले कविता, त्यो कफी कप को
आधा आधि बाट सुरु हुन्छ
र कहिले,
कोठामा यसै फालिएका
फगत कागज का   टुक्राहरुबाट
कहिले कविता त्यो बस को
झ्याल तिरको सिट बाट सुरु हुन्छ
र कहिले
हिड्दा हिड्दै सडक का
सस्त कथा हरुबाट
कहिले कविता मनपर्ने मान्छे लाइ
भन्न नसकिएका शब्द हरु बाट सुरु हुन्छ
र कहिले ,
छाडेर जानेका
यादका अवशेष हरु बाट
कहिले कविता भर्खरै जन्मेका
बारीका फूल हरु बाट सुरु हुन्छ
र कहिले
श्री कृष्ण रहेछ एक भन्दै
मृत्यु शैया बाट
कैले कविता भोको
पेट बाट सुरु हुन्छ
र कहिले
टिलपिल भरिएका
आँखाहरु बाट

listen it here ;)
https://youtu.be/EKuKbPnIfq4
Share:

Wednesday, April 25, 2018

सरिता छिट्टो तयार भै








एक रात
बस एक रात ,
एक रातको त कुरा हो
भन्दा भन्दै रातौ रात
उ एउतै बिस्तारमा
नयाँ नयाँ अनुहार संग सुतेकी थिई
उसले आफ्नो शरीर संगै
निद्रा र केहि थान सपना बेचेकी थिई
अपरिचित रात हरुलाई
उत्तेजित हात हरुलाई
अझै पनि उ अलमल्ल छे
उसले पहिलो पटक छोपेको
अन्जान पुरुष को त्यो हात दरो थ्यो
वा
अश्लिल वाध्यता हरु स्वीकार्ने उसको आफ्नै मन
लगन साहित् जुराएर
चिना भाग्य मिलाएर
पन्चे बाजा बजाएर
गरगहनाले सजाएर
भित्रिएकी श्रीमती बाट जब
पुरुषको काम तृष्णा मेतिदैनन
तब उ पनि भौतारिदै पुग्छ
सरिता थिम
अब मलाई भन्नुस
सन्तुस्टिको  लागि दौडिरहेको समाजले सरितालाई मैलाउछ
या
आफ्ना आवस्येकताका लागि लडिरहेकी सरिता ले समाजलाइ मैलाउछे

द्वन्द का लाखौँ गोलीहरु मध्ये
एउटा गोलि ले
सरिताको श्रीमान को शिर रोज्यो
अब गोलीलाई के थाहा ?
बाउ बिना दुइ छोरी हुर्काउन
सन्घर्षका कुन पराकास्टा नाग्नुपर्छ भन्ने

सरिताका पति द्वन्द मा क्रान्ति गर्दा गर्दै मरे
र
यता उ काठमानडौ को महंगी मा मर्दा मर्दै क्रान्ति गरिरहेकी छे
आफ्नै शरीर संगको क्रान्ति
उसलाई त केवल आफ्ना छोरीहरुका खुशी किन्न सके पुग्छ
उ नोठ का हिसाब राख्दिने
उ रोकीदैने जबसम्म शरीर मा घाउ लाग्ने ठाउँ बाकि रहनछन्
उ चोट का हिसाब राख्दिने

जेठी छोरी लाइ पहिलो पटक
कपडा सिलाउन सिकौदा भनेकिथिऎ
छोरी सेतो रंगको कपडामा सेती धागो
कालो रंग को कपडामा कालै धागो
तर उ आफैले आफैलाई बारम्बार सोध्थी
मन उध्रिदा कुन रंगको धागो रोज्ने

हरेक बिहान उ शिथिल हुन्छे थकैले अनि डिइस्चार्रज हुन्छ
पुरै शक्ति
रातभर चालिएको मोबाइल झैँ
मोबाइल संग त चार्जेर छ
उ संग छैन
उसको जीवन ठ्याक्कै उसको कपाल झैँ
छन्
असरल्ल
आफ्नी कान्छी छोरीले
जसरि ड्रइंग बुक का
साधा आकारहरु मा रंग भर्दछे
के  सरिताले पनि तेसरी नै
जीवनका उजाडियेका सपनाहरुमा
रंग फेरी भर्न सक्ली?
देश का तमाम रेड लाईट  एरिया मा
सरिता हरु प्रशस्तै भेटिनेछन्
र त्यहाँका  ढोका हरुले सधैँ   येउटै कुरा सुन्छन
ढकढक
सरिता छिट्टो तयार भै
अर्को ग्राहक आयो .........

https://www.youtube.com/watch?v=3IvcGleh2ms&t=46s
Share:

Friday, March 2, 2018

हिड्दा हिड्दै

हिड्दा हिड्दै बाटोमा
एकै छिन रोकिए अनि
नियाले आफ्नै खुट्टा
magic चप्पल मा उभिएका
हेरे खुट्टामा माटो को लेप
अनि येसो घडी हेरेको
२१ वर्ष भयेछ
म हिड्न थालेको
तपाईहरुको कति भो ?

यो बाटो कहिले कहिँ दिक्क लाग्छ
फेरी प्रत्येक चोकमा
मैले आफैले रोजेको हूँ
यी गल्लीहरु

एउटा साथी छ
जसलाई सधै हतार हुन्छ
संगै हिड्न मान्दै मान्दैन
बात गर्दै जाउँ यो बाटो छोटो हुन्छ भन्छु
उ मान्दैन
जिन्दगीको नक्सै एस्तो छ
जुन बाटो गए पनि पुग्ने घाटमै हो
फेरी उसलाई हतार किन ? 
Share:

Saturday, February 17, 2018

आमा


***इन्द्रबज्रा छन्द
राखी हजारौं मनका ति आशा
पन्छाई आफ्ना ती पिडा निराशा
आमा मलाई नव जन्म दियौ
रुदा म तिम्ले मन त्यो दुखायौ
संसार छाडेर मलाई बोक्थेउ
छाता बनेरै धुप् पानि रोक्थेउ
ऒछयान छोडी भुइतिर सर्ने
भोकै रहेनी सब थाल भर्ने
मागे जति थोक सबै दिलायौ
ति दुग्दधारा र सुधा पिलयौ
आमा तिमीले ऋण नै लगायौ
त्यो माशु हाडमा जीवनै जगायौ
कुन्ती यसोधा र दिती तिमि हौ
त्यो स्नेह माया ममता तिमि हौ
आमा तिमि नै हर जन्म पाउ
औ मीटाउ टुहुरा इ घाउ

Share:

तेरो भन्दा


तेरो टिफिन भन्दा
मेरो टिफिन मिठो
तेरो crush भन्दा
मेरी crush राम्री
तेरो bike भन्दा
मेरो bike खतरा
तेरो भन्दा राम्रो
मेरो percentage छ
तेरो salary भन्दा
मेरो salary धेरै
येस्तै भन्दै उ सधै लड्थ्यो मसंग
डर लाग्छ
आज मरिसकेपछि पनि
कतै उ फुत्त आएर भन्ने छ
ओए
तेरो चिहान भन्दा
मेरो चिहान ठुलो
Share:

Thursday, February 15, 2018

आँखा अस्पताल

घरकी बुढीलाइ
अभागी अलच्छिनीका गालि गर्ने
तर
चोक को मन्दिर मा श्रद्दा सुमनले
अनेकौ देवीको पुजा गर्ने
एउटा बाजेलाई
आँखा  अस्पताल जादा
डाक्टर ले भन्यो रे
चस्मा लगाउनु पर्यो बा
नजिकको देख्न छाड्नु भएछ
Share:

Sunday, February 11, 2018

शोनु


म पाँचमा उ चारमा
स्कूल सक्किसकेपछी हतारमा
मिल नजिकैको चौरमा
हामी भेट्थ्यौँ
मध्य जेठ्को घाममा
हेमन्त वर्षा याममा
मतलब नगरी खेल्थ्यौँ

म क्यालेन्डरका सबै बारलाई काटदिन्थँे
र सबैलाई शनिबार बनाइदिन्थँे
किनकि हरेक शनिबार शोनु संगै
स्कूलको पुरानो आकाशी रंग को सर्ट लगाई
हामी दौडिदै पुग्थ्यौँ
राप्ति नदीको किनारमा
माछा मार्थ्याँै अनि रमाउथ्यौँ त्यो बहावमा

उसका घरका भित्ताहरुमा गुइठाँ बनाउनु
अनि साना हातका रंगीविरंगी छापहरु भित्तामा सजाउनु
बड्की आइतबार होस् या दशैं
माघी होस या फागु
हामी संगै मनाउथ्याँै

तिन बहिनिमा जेठी उ
सानैमा आमा गुमाएकी
हुर्कदै हुर्काउदँै थिई दुइ बहिनीहरु
गाउँभरि हल्ला थियो
छोटे थारुलाई दहेजको पिर छ
गाउँमा सबैले अदिँया गर्थे
शोनुका बाले आफ्नै पेट संग अदिँया गर्थे

एक शनिबार बिहानै म उसलाई त्यसैगरी दौडाउदँै खोला लगँे
श्याँश्याँ गर्दै भन्दै थिई उ
ध्त् साने भात् नि खाएछैन
म उसका हात समाउदैँ देखाउन थालँे
पल्ला गाउँ क केटा केटीहरु
हामि नाए माछा जति पल्ला गाउँ पुग्थे

हात भरि माछा लिदै फर्कियौँ हामी
तर शोनुको घर साविक भन्दा भिन्न थियो
मैले सोच्नै सकिन शोनुका बा
जो नुनका भरमा हप्तौ काट्थे
कसरी आटँे तेत्रो भिड जम्मा गर्न
शोनु र म भिँड पन्छाउदै भित्र छिर्यौ
शोनु थामिनै नसकिने गरी रोई
हामी स्तब्ध थियौ
छुट्की जो भर्खर बोलि फुटाएकी थिई
र जमुना जसले जीवनका पहिला अक्षरहरु
कापीमा बांगा टिङ्गा तवरले उतार्दै थिई
आज भँुइमा लडिरहेकी थिई
ठ्याक्कै उसका कापी र अक्षर झैँ
भिँड बाट अवाज सुनियो
छोटे थारुले खानामा बिष हालेर बेटी मार्यो
शोनुका बा उता आफै भान्सामा लडिरहेका थिए
फेरी कहिल्यै नउठ्ने गरि
बनाउनेले नै यस्तो बनायो
भोक महँगो
अनि
बिष सस्तो बनायो
अर्को बिहान देखी
शोनुका लागि हाम्रै घरमा भात पाक्न थाल्यो......

https://www.youtube.com/watch?v=5GsKnWzjJYg&t=4s

Share:

मेरी साथी


कुरा त्यति बेलाको हो
जब म मलाई सबै भन्दा बढी माया गर्ने
आमालाई ढाँटेर उसलाई भेट्न जान्थँे
कुरा सानैको हो
जब कसैको जुठो नखाने म
एउटै थालमा उसंगै खान्थँे
उसले जितेको हेर्न म
लुकामारी खेल्दा सधै एउटै ठाउँमा लुक्थेँ
रुमाल लुकाइमा थाहा नपाए झैँ गरी चोर बनिदिन्थेँ
मैले स्कुलमा पुरस्कार जित्दा
मेरा पैतालाले दौडाउदैँ मलाई उसको घर सम्म पुर्यौथेँ
अनि म उसलाई देखाउथेँ
अविर भन्दा रंगिन मेरा खुसीहरू
आखिर मेरो खास पुरस्कार उ नै त थिई
घर बाट नजिकै थ्यो स्कूल
तर अलिक माथि
उसको घर सम्म पुगेर उसगंै स्कूल जादाँ
स्कूल साच्चैँ नजिक लाग्थ्यो
गणितका सुत्रहरु विज्ञानका साध्यहरु
संस्कृतका स्लोकहरु कण्ठस्त पार्ने म
उसको अगाडी भुल्न रुचाउथेँ
पानी परेको दिन छाता भुल्न
किनकि उसको छातमा दुई शरिर आधा आधा रुझ्दै हिड्ने
आनन्द अर्कैथ्यो
स्कूलमा कलम भुल्न
किनकि उसको कलममा
उसले टोकेका निसानहरु भुल्दै जानी नजानी टोक्ने आनन्द अर्कै थ्यो
अनि हाल्पÞm छुट्टिमा खाजा भूल्न
किनकि उसको टिफिन बाट उसंगै खाजा खादैँ
अलि धेरै अघाउने आनन्द अर्कै थ्यो
उ मेरी त्यो साथी हो जसलाई
एस एल सी को अन्तिम दिन मेरो सर्टमा सबै भन्दा धेरै केर्नु थ्यो
उ मेरी त्यो साथी हो जसलाई म सर ले आइमाई साथी
पढाइ राख्दा जिस्काउदँै आँखा सन्काउथँे
उ मेरी त्यो साथी हो
जसलाई म होलिमा सबै भन्दा धेरै रंग लगाइदिन्थेँ
भैलोमा संगै नाच्थेँ
र सबै साथीहरुले नाम जोडेरै जिस्काउथेँ

१२ को परिक्षा पछि
मैले प्रपोज गरेँ उसलाई
उसको जवाफ नो
उ गइ पढ्न भनेर
समुद्रहरु तरेर

सम्बन्ध मा चिसो परेपछि
कुराहरु पनि ओसिदाँ रहेछन
नमिठा हुदाँ रहेछन्
पहिले झैँ सिरकभित्र लुकेर
अर्को दिन सम्म च्याट हुदैनन् आज भोलि
तर
उसको जन्मदिन मा सायद
आज पनि सबै भन्दा बढी म नै रमाउँछु होला
क्यान्डल सल्काउछु अनि सम्झिन्छु
म घाममा
घुमघाम गर्दा उसकै छाता ले सघाउँथ्यो
म त उसको र मेरो छायाँ मात्र जोडिदाँ पनि रमाउथेँ
उ र म, म र उ संसार सानो लाग्थ्यो
तर यो संसारको  यति ठुलो परिधि त उसले चिनाएकी हो मलाई जब उ टाढा भई
भूगोलले छुट्ट्याएको अर्कै  देश तिर
उसलाई देख्न मात्र पनि मैले बर्षौ कुर्न पर्ने भयो
आज भोलि साथी हरु सम्झाउदँै भन्छन
खुट्टा भए जुत्ता जति पनि भेटिन्छ
अनि म भन्छु
जुत्ताले बाटो भुल्छन् पैतालाले भुल्दैनन
जुत्ता डेरा झैँ फेरिन्छन पैताला फेरिन्नन
 
https://www.youtube.com/watch?v=p5eV5wW-KjY

Share:

म एक आम नेपाली



अलि धेरै पढ्न
छिमेकी भन्दा अलि धेरै कमाउन
आमाको हाँसो फर्काउन
बाबाको ऋण कटाउन
बिदेशिएको उ
एक आम नेपाली

म बुझ्दिन पत्रिकाका
ब्ल्याक एन्ड व्हाइट पेजहरु
म बुझ्दिन राज्य डुबाउने राजनीति
म केवल देख्न सक्छु
भोलिका सुखका निम्ति
दौडिएका दिनहरु
हतारिएका पाइलाहरु
डर छ उ बाकसमा नफर्कियोस्
म एक आम नेपाली

म त सुन्ने मान्छे
दिनभरी देशभरी
चियापसलमा बसको झ्याल्तिरको सिटमा
सुनिरहन्छु व्याक्ख्यान्हरू
मेरो देशको बारेमा
अनि सोध्छु आफैलाई
यो देशलाई मैले के दिएँ ?
म एक आम नेपाली

देश खुम्चिएर बनेको
काठमान्डौका साघुँरा गल्लीहरुमा
टिनका प्लेटमा हातको चित्र बनाई
हस्त रेखा देखाई
भविस्य हेर्ने ज्योतिषहरु संग
सोध्न मन लाग्छ
के यी हातमा देश को भविस्य छैन?
जिज्ञाशु मनलाई पाईलाहरुले अलि पर धकेल्छ
र लहरैसँग देखिन्छन आँखाले होर्डिंग बोर्डहरु
स्टडी इन अमेरिका
स्टडी इन अस्ट्रेलिया
स्टडी इन..............
म त हेर्ने मान्छे
म एक आम नेपाली

समयले मान्छे लाई धेरै कुरा सिकाउँछ
हत्केलाको घडी हेर्दा आज पनि
याद आउँछ
मेरो इछ्या पुरा गर्न बाबाले
आफ्नै हातको  आफुलाई मन पर्ने
घडी फुकाली थमाउनु भएको दिन
र मैले
जानी नजानी चलाउँदा
खेल्न जाँदा पानीमा भिजाउँदा
लापरवाहिले बिग्रेको त्यो घडी
त्यो घडी मलाई
मेरो देश जस्तै लाग्छ
मैले जतन गर्न सकिन
म एक आम नेपाली
Share:

तिमी

मेरा खुशीहरुमा रमाउने तिमीलाई
म आज मेरा शब्दहरुमा समेट्दै छु
समाजका यावत प्रस्नहरुको मतलब नगरी
मेरा हात थाम्न साहस गर्ने तिमीलाई ...
माघका चीशा रातहरुमा
जब जुन पनि काँप्दै
लुक्न खोज्थ्यो
बादलहरुमा
हामी हुन्थ्याँै
डेराको दिउसै अँध्यारो पर्ने कोठामा
भेल्भेटको ब्ल्यांकेट आधा आधा बाड्दै
घरि दायाँ घरि बायाँ
कोल्टे फेर्दै
त्यो ठिहिर्याउने जाडोमा निद्रा खोज्दै
अनि तिमी
आफ्नो आङ नढाकी आफूतिर नराखी
मलाई सारी दिन्थ्यौ
उही पुरानो भेल्भेटको ब्ल्याङकेट

दिनभरी शहरको धुलो खादँै
आपिÞmसका फाइलमा अल्मलिँदै
साझा बसमा उभिदै ठेलिदै
म डेरा फर्कन्थँे
तिमी मेरो खुम्चिएको गालालाई
हाँस्न उक्श्याउथ्यौ
आफ्नो हँशिलो मुस्कानले
अनि म बिर्शिन्थँे
मानौ घाउले एनेस्थेसिया पाएपछि
दुःखाई भुल्यो

सधँै म पछि भान्सा उठाउने तिमी
मैँले त खै कैहिल्यै सोधिन
र कैहिल्यै बुझिन
तिमी अघायौ या अघाइनौ
महिना मर्दा जब घर भेटिलाई
बुझाउनुपर्थ्यो हामीले
दिनचर्याका महशुलहरु
तब संघारमा मलाई रोक्दै
शिरानी पल्टाई भरिदिन्थ्यौ तिमीले मेरा अधुरा हातहरु
खुत्रुके मा संघालेका खुशिहरुले
अनि मात्रपो नयाँ महिना सुरु हुन्थ्यो

https://www.youtube.com/watch?v=X1qjRsaqiBM

Share:

क्याप्टेन बाजे

अब त म छ कक्षामा पढ्ने
रंगीविरंगी  गातामा ढाकिएका
र कार्टून क स्टीकर टासिएका
किताब कापी बोकेर जाने
फेरी एउटा नया साल थियो
म स्कूल जाने बाटोमा
मेरो घर बाट पांच छ घर पल्तिर
लेउले मैलिएर कालो भएको
दशकौ दशक देखेको
एउटा चौपारी थियो
जहाँ शानले गजधम्म उभिएको थ्यो
बुढो पिपल
भित्र भित्र सम्म जरा गाडेको
उध्रिएको कंक्रिट बाट प्रस्टै देखिन्थ्यो
बुढो पिपलका जरा
समयकै हिसाब गर्ने हो भने
दुवै दौंतरी झैँ देखिन्थे
र


उमेर संगै सेत्तिदै गएको कन्चट्
र रित्तिदै गरेको तालु
बर्षै पिच्छे बाढ्दै गएका चाउरिहरु
र चौपारीमा पिपलले गाडेका जरा जस्तै
कन्चट्मा प्रस्टै देखिने नीला नसाहरु
ख्याउटे दुब्लो शरिर
उनि पनि साच्चैं बुढा भए का थिए
म रोज बिद्धयालय जांदा चुरोटका धुवा फ्वा फ्वा  उडाउने
पात्र थिए क्याप्टेन बाजे
म अनविज्ञ थिएं
उनको भूत र वर्तमान संग
मेरो निम्ति उनि एक पात्र थिए
फगत एक चुरोटे पात्र
हावा मा फैलीएको हल्लाले भन्थ्यो उनले बट्टा नारित्त्याएको दिन हुंदैनथ्यो
समय बगिरह्यो धुवा उडिरह्यो
म सात,आठ गर्दै नौमा पढ्ने भंए
नयां किताब नया कापी नया साल
पत्रोबाट दिनहरु रित्तिदै थिए
र एक दिन
साविक भन्दा भिन्न देखिन्थ्यो
चौपारी र पिपल
क्याप्टेन बाजे रहित
नजिकै गएर हेर्दा
माटोमा केहि दबेका र केही दब्न बाँकी
चुरोट क ठुटा हरु थिए
फगत ठुटाहरु

https://www.youtube.com/watch?v=U7KFPnh_ACw&t=39s

Share:

बाबा

त्यो दिन बाबा संग
घरको आर एक्स बाईकमा आगाडी बसेर
भैँसी का सिङझैँ देखिने
दुईटा ऐना समाती
आफ्ना साना आखाँहरुले
आफ्नै शैलिमा त्यो परिधि नियाल्दै
सपना संगाल्दै
मानसपटलमा अटेस्मटेस् हुने गरी
खाँदेका दिनहरु
बाबाले मलाई गल्लि गल्लि हिडाउनु भो
सहरका कुना कुना चिनाउनु भो
त्यसैले त आज म कतै पनि हराउँदिन

त्यो दिन बाबाले मलाई
सपना देख्न सिकाउन भो
र बाबाको मनमा पनि पलाएहोलान् मेरो भोलि सम्झिदै सपना हरु
मेरो बाबाले मलाई
कहिले ठुलो मान्छे बनेस् भन्दै
प्रगति र दिर्घाय” का आशिष दिनुहुन्थ्यो
र कहिले गधा भन्दै हपार्नुहुन्थ्यो
तर अरुले जे सुकै भने नि
म भित्र मेरा बाले जे देख्नुहुन्थ्यो
त्यो अरु कसैले देख्दैनथ्यो

म सानो हुँदा मेरा खल्ती कहिल्यै रित्तिएनन्
रित्तो खल्तीले धेरै कुरा सिकाउँदो रहेछ
कसैको अभाव पनि सिकाउँदो रहेछ
मासिक तलबले पनि नभरिने खल्ती
खै मेरा बाले कसरी भरिदिनुहुन्थ्यो

तर मन त पागलै हो
कहाँ सक्थे र बाबाले
हाती किनेर थैलो भित्र राख्न
अनि आफ्ना व्यर्थका अडान पुरा नहुँदा
रिसाएर म    घरै उचाल्थँे
खै बाबाले कसरी सक्नुहुन्थ्यो
रिसले आगो भएको मलाई उचाल्न
अनि शान्त बनाई सम्हाल्न
मलाई मन छ
फेरी बाबा संग आर एकस चढेर सहर घुम्न
फेरी पाइन्टका खल्ती खतल्दै पैसा भेटाउन
फेरी बाबाको ए गधा सुन्न
फेरी बाबा सगं सपना देख्न
अनि रिसाउन
अनि बाबाद्धारा फकाईन
आज मलाई भित्तामा
झुन्डिएको
तस्बिर ले तर्साउछ
समयले गिज्याउँछ
मिल्ने भए म आफैलाई
बेचिन्दिन्थे
कमैया बनेर बाबालाई पÞmर्काउथँे
तर खै खाए पछि नओकल्ने
काल कस्तो जमिन्दार रहेछ
?

https://www.youtube.com/watch?v=0RWFlcwnvyY
Share:

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.